प्रेमी नै हत्यारा

writer

गोपाल दाहाल

बिहिबार, २१ चैत २०७५


 
मोरङ, बेलबारी नगरपालिका–४, बुधबारेकी २६ वर्षीया रमिला राई र स्थानीय नेता तथा समाजसेवीका रूपमा चिनिने योगेन्द्र गुरुङ केही समयदेखि प्रेम सम्बन्धमा थिए। उनीहरूको सम्बन्धबारे गाउँमा चर्चा हुने गथ्र्यो। 

तेह्रथुममा विवाह भएकी रमिला श्रीमान्सँग सम्बन्ध विच्छेद गरेर केही समयदेखि बेलबारीस्थित माइतीघरमा बस्दै आएकी थिइन्। उनकी नौ वर्षीया छोरी पनि छिन्। तत्कालीन एमालेको बेलबारी नगर कमिटीका पूर्वअध्यक्ष, स्थानीय नोबेल अस्पतालका अध्यक्षलगायत विभिन्न संस्थामा आबद्ध योगेन्द्रका श्रीमती र छोरा काठमाडौँमा बस्थे। उनीहरू बीचको सम्बन्ध गाउँमा ‘ओपन सेक्रेट’ थियो। 

गत फागुन १७ गते शुक्रबारको साँझ रमिला र योगेन्द्रसँगै स्थानीय एक युवा र महिलासमेत ‘गुड फ्राइडे मनाउन’ भन्दै एउटै गाडीमा विराटचोकको हवाना रेस्टुरेन्ट गए। त्यहाँ खानपिन र रमाइलो गरेर रातिसम्म बसे। राति ११ बजे योगेन्द्रकै गाडीमा सबै जना घर फर्किए। गाडीमा रहेका महिला र युवालाई योगेन्द्रले उनीहरूका घर–घरमा छाडिदिए। रमिला भने गाडीमै थिइन्।

भोलिपल्टसम्म रमिला घर नफर्किएपछि उनको परिवारले खोजी गर्न थाल्यो। परिवारलाई पहिलादेखि नै योगेन्द्रसँगको सम्बन्ध थाहा थियो। त्यसैले रमिलाकी बहिनीले योगेन्द्रलाई फोन गरेर ‘दिदी कहाँ छ, घर आएकी छैन त’ भनेर सोधिन्। योगेन्द्रले जवाफ दिए, ‘मैले हिजो राति नै घरमा छाडिदिएको थिएँ।’

गाउँमा हल्ला चल्यो, ‘रमिला बेपत्ता भइन्।’ योगेन्द्र पनि उनको घर पुगे र परिवारसँगै खोजी गर्न थाले। त्यस दिन योगेन्द्रले तीन पटकसम्म रमिलाको घर ओहोरदोहोर गरे। परिवारलाई प्रहरीमा हुलियासहित निवेदन दिन सल्लाह पनि दिए। त्यसपछि योगेन्द्रले इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईलाई फोन गरेर भने, ‘मेरो गर्लफ्रेन्ड हराएर तनाव भयो।’ 

इन्स्पेक्टर राईकै नेतृत्वमा रमिलाको खोजी गर्न प्रहरी टोली खटियो। तीन दिन बित्दा पनि रमिलाको अत्तोपत्तो थिएन। उता योगेन्द्र पनि प्रहरी र परिवारसँगै खोजिरहेका थिए। ‘योगेन्द्र हामीसँगै खोजीमा थिए,’ इन्स्पेक्टर राई भन्छन्, ‘उनी ‘जसरी पनि हत्यारा पत्ता लगाउनुपर्‍यो, मेरो सामाजिक जीवनमा असर पर्ने भयो’ भनेर आग्रह पनि गर्थे।’ राईका अनुसार योगेन्द्रले रमिलाका हत्यारा उनका पूर्वश्रीमान् पनि हुन सक्ने भन्दै अनुसन्धान गर्न प्रहरीसँग आग्रह गरिरहेका थिए। राई भन्छन्, ‘त्यत्रो दिन सँगै खोज्दा पनि उनका गतिविधि सामान्य लाग्थे। हत्यारा अरू हुन सक्ने भन्दै शंका गरेको सुनाउँथे।’

परिवारले रमिलालाई योगेन्द्रले नै बन्धक बनाएर राखेको आशंका गर्‍यो। परिवारको आशंकापछि प्रहरीले बेलबारी–४ स्थित योगेन्द्रको घरमा फागुन २० गते खानतलासी गर्‍यो। तर, घरमा आशंकाअनुसार केही भेटिएन। फागुन २१ मा इलाका प्रहरीमा योगेन्द्र र रमिलाको परिवारबीच छलफल भयो। परिवार र योगेन्द्र दुवै पक्षले तीन दिनसम्म रमिलाको खोजी गर्ने सहमति भयो।

परिवार रमिलाको खोजीमा लाग्यो तर योगेन्द्र आफू बच्ने उपायको खोजीमा लागे। केही वकिलसँग सल्लाह गरेका योगेन्द्र तीन दिनपछि आफैँ गायब भए। इन्स्पेक्टर राई भन्छन्, ‘योगेन्द्र हामीसँगै रमिला र अपराधीको खोजी गरिरहेका थिए तर हामी गोप्य रूपमा उनीमाथि नै अनुसन्धान गरिरहेका थियौँ।’

प्रहरीले योगेन्द्रको फोन ट्याप गरेर अनुसन्धान थाल्यो भने रमिला हराएको दिनका राजमार्गका सीसीटीभी क्यामराका फुटेज अवलोकन गर्‍यो। योगेन्द्रका कुरा र प्रहरीको अनुसन्धानले देखाएको कुरा मिलिरहेका थिएनन्। प्रहरीले विभिन्न अनुसन्धानबाट हत्या योगेन्द्रले नै गरेको निष्कर्ष निकालिसकेको थियो। तर, योगेन्द्र भागे। प्रहरीले फागुन २६ गते उनलाई इलामबाट प्रक्राउ गरेर बेलबारी ल्यायो।

बेलबारीदेखि कोशी ब्यारेजसम्मका सीसीटीभी क्यामराका फुटेजमा फागुन १७ गते राति १२ बजे योगेन्द्रको बा १५च ७९१६ को कार इटहरीबाट पश्चिम लागेको देखियो। उनको गाडी भोलिपल्ट बिहान ४ बजेको समयमा मोरङको गोठगाउँबाट पूर्व लागेको देखियो। पक्राउ परेका योगेन्द्रले सुरुमा त आफूलाई केही थाहा नभएको जस्तो नाटक गरिरहेका थिए।

सीसीटीभी फुटेजको आधारमा बयान लिन थालेपछि उनले आफैँले हत्या गरेर कोशीमा फ्याँकेको स्विकारे। ‘राति योगेन्द्रकै घरमा हत्या भएको रहेछ,’ इन्स्पेक्टर राई भन्छन्, ‘सुरुमा झगडा हुँदा रमिलालाई चोट लागेर रगत बगेछ। उनी चिच्याउन थालेपछि अरूले सुन्ने डरले योगेन्द्रले घाँटी थिचेर हत्या गरे। मरेपछि हातखुट्टा बाँधेर बोरामा हालेर कोशी ब्यारेजमा लगेर फ्याँकेका रहेछन्।’

रमिलाको शव फ्याँकेको दुई दिनपछि उनलाई खोज्ने निहुँमा योगेन्द्रले पुनः कोशी ब्यारेजमा पुगेर माझीहरूसँग किनारमा कुनै शव देखियो कि देखिएन भनेर सोधखोज गरेका थिए। उनले प्रहरीको बयानमा आफैँले हत्या गरेर फ्याँकेको स्वीकार गरेपछि हराएको १० दिनमा प्रहरीले गोताखोर लगाएर कोशी ब्यारेजमा रमिलाको शव खोज्यो तर शव फेला परेन। प्रहरीले योगेन्द्रलाई व्यक्ति बेपत्ता र हत्या अभियोगमा मुद्दा चलायो।

तर, रमिला हराएको २६ दिनमा कोशी ब्यारेजको तीन सय मिटर दक्षिण सप्तरीको गोबरगाढानजिक स्थानीयले पानीमा एउटा सेतो बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। करिब डेढ घण्टा समय लगाएर किनारमा निकालिएको बोरा खोलेर हेर्दा हातखुट्टा बाँधेर पोको पारेको शव भेटियो। सड्न थालिसकेको शव रमिलाकै थियो। शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्मार्टम गरेपछि बेलबारीमा लगेर आफन्तले दाहसंस्कार गरे।

रमिलाका परिवारले उनको हत्यामा योगेन्द्रसँगै अन्य व्यक्ति पनि संलग्न हुन सक्ने भन्दै थप अनुसन्धान गर्न प्रहरीलाई आग्रह गरेको छ। रमिलाकी दिदी गंगा सुनुवार शव हेर्दा दुवै हातखुट्टा बाँधिएको, कपडा खोलिएको र टाउकोमा चोट लागेको देखिएको बताउँदै एक्लैले नभई अरू पनि मिलेर हत्या भएको दाबी गर्छिन्। उनी प्रहरीले थप अनुसन्धान गर्नुपर्ने बताउँछिन्।

प्रहरीले भने अहिलेसम्म योगेन्द्रबाहेक अरूको संलग्नता नभेटेको बताएको छ। प्रहरीले सबै प्रमाणसहित योगेन्द्रलाई जन्मकैदका लागि अदालतमा पेश गरेको छ। इन्स्पेक्टर राई भन्छन्, ‘हाम्रो अनुसन्धानका सम्पूर्ण तथ्यले योगेन्द्र नै हत्यारा हो भन्ने पुष्टि गर्छ। त्यति आधारमा प्रमाण पेश गरेका छौँ।’

करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको सम्बन्ध सुरुमा राम्रै रहेको देखिन्छ। योगेन्द्रले रमिलाका लागि खर्च पनि दिने गरेका थिए। तर, एक्कासि हत्या गर्नुपर्ने कारण देखिँदैन। प्रहरी निरीक्षक राई विवाहेतर सम्बन्ध भएकाले समाजमा बदनाम हुने डरले अचानक हत्या भएको हुन सक्ने बताउँछन्। भन्छन्, ‘उनको हत्या गर्ने पुरानो योजना देखिँदैन, कुटपिट गर्दा चिच्याएपछि आवेगमा हत्या भएको देखिन्छ।’

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि