कलाको कला यात्रा

writer

प्रतीक्षा थापा

बिहिबार, २१ चैत २०७५


विवाहलाई धेरैले ‘करिअरको बाधक’ ठान्ने गर्छन् । कला क्षेत्रमा त झन् विवाहले करिअरै ध्वस्त पार्ने त्रास पालेका पाइलेपिच्छे भेटिन्छन् । गायिका कला पंगेनी अपवादका रूपमा देखिएकी छिन् । दुई सन्तान हुर्काएपछि मात्र उनको गायन यात्रा सुरु भएको थियो । 

नामअनुसार काम अर्थात् कला क्षेत्रमै केही गर्ने चाहना उनका सानै उमेरदेखि थियो । स्कुलस्तरमा उनी गीत गाएर धेरैपल्ट पुरस्कृत भएकी थिइन् । औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गर्ने योजना बनाउँदाबनाउँदै उनको विवाह भयो । विवाहपछि उनले घरबारलाई प्राथमिकता दिइन् । तर, गलामा रहेको कला दबाइनन् । मनमा रहेको गायिका बन्ने चाहनालाई मारिनन् । भन्छिन्, ‘एक न एक दिन गायिका भएरै छाड्छु भन्ने मनमा अठोट चाहिँ लिइरहेँ ।’

बिहेलगत्तै छोरी जन्मिएपछि गायनमा करिअर बनाउने सपना केही पर धकेलियो । छोरी हुर्केपछि गायिका बन्ने चाहना पनि तत्काल पूरा भएन । तीन वर्षपछि जन्मेको छोरालाई समेत हुर्काउनुप¥यो । लामो समय पूर्णतः गृहिणी भइन् । तर, आफूभित्र दबिएको गायिका बन्ने चाहनालाई गृहिणी रहेको समयमा पनि जीवित राखिन् । आफ्नै तरिकाले तयारी गरिरहिन् ।

२०६५ सालमा उनको चाहना पूरा भयो । उनलाई श्रीमान् दुर्गा पंगेनीले हौस्याए । भन्छिन्, ‘उहाँको साथसहयोग पाएपछि मलाई यो क्षेत्रमा अघि बढ्न सहज भयो ।’ उनले ‘बोले हुन्न र’ लोकदोहोरी गीतको एल्बम बजारमा ल्याइन् । एल्बममा तीन वटा गीत समावेश थिए । 

पहिलो एल्बमबाट उनले खासै सफलता पाइनन् । तर, हिम्मत हारिनन् । भन्छिन्, ‘एक प्रयासमा सफल भइहाल्छु भन्ने लागेको थिएन । त्यसैले पहिलो गीत चर्चित नहुँदा पनि त्यति धेरै असर गरेन ।’ केही समयपछि तीजलाई लक्ष्य गरेर बजारमा ल्याएको ‘हामी चेली’ गीत भने चर्चित भयो । 

त्यसलगत्तै अर्को गीत ‘जवानीको जोश’ उनले सार्वजनिक गरिन् । गीत चर्चित भएपछि उनको करिअरले गति लियो । स्टेजमा कार्यक्रममा उनको माग बढ्यो । अर्को तीजमा ल्याएको ‘पच्चीस हजार’ गीत पनि चर्चित बन्यो र उनको चर्चा चुलिँदै गयो । 

स्याङ्जा मालुंगा टुनीबोटमा जन्मिएकी उनी लोकगीतमै सक्रिय रहे पनि  त्यसभित्रका फरक–फरक विधामा गीत गाउन रुचाउँछिन् । उनका रोइला गीत ‘टेक टेक अखोटे लौरा’ र ‘म त पुरुष मान्छे’ छन् । चुड्का भाकामा ‘गुन्द्री तानेर’, झ्याउरे गीत ‘नदेखाउ है छायाँ’ ‘मनको दियो’ र ‘मुहार हँसिलो’ आदि रुचाइएका गीत हुन् । यसै गरी पञ्चेबाजामा रहेको उनको गीत ‘मन बिगार्ने रानी’ पनि चर्चित रह्यो । उनी भन्छिन्, ‘सकेसम्म फरक–फरक स्वादका गीत पस्किने प्रयास गर्छु । त्यसले मलाई खुशी मिल्छ र स्रोताले नयाँ स्वादका गीत पाउँछन् ।’

केही गीतका लागि उनले अवार्डसमेत हात पारिन् । ‘गुन्द्री तानेर’ बोलको गीतका लागि ‘सर्वोत्कृष्ट लोकगायिका’ को बिन्दवासिनी म्युजिक अवार्ड जितिन् ।  त्यसपछि चर्चित लोकगायक पशुपति शर्मासँग गाएको देशभक्तिपूर्ण गीत ‘जोगाउनु छ कालापानी’ बोलको गीतले कान्तिपुर म्युजिक अवार्डसमेत जित्यो । यही गीतबाट  इपिक नेपाल म्युजिक अवार्ड र पावर न्युज म्युजिक अवार्डसमेत जित्न सफल भइन् । 

गीत गाउनकै लागि उनी नेपालका विभिन्न जिल्लामा आयोजना हुने मेला–महोत्सवका साथै भारतका धेरै शहर र खाडी मुलुकमा पटक–पटक पुगेकी छिन् । ‘जापान र बेलायत पुगेर पनि सांगीतिक प्रस्तुति दिइसकेकी छु,’ उनी भन्छिन् । 
 
 

तपाईको कमेन्ट

मुख्य समाचार