‘किस सिन गर्दा अप्ठ्यारो लाग्यो’

writer

सम्पूर्ण

बिहिबार, २१ चैत २०७५


कबीर खड्का, अभिनेता

गोपालचन्द्र लामिछानेले निर्देशन गर्नुभएको ‘लम्फु’ मेरो डेब्यू फिल्म हो । स्कुल पढ्दादेखि नै हिरो बन्ने चाहना थियो । त्यही सपना पूरा गर्न अभिनयमा स्नातक गरेँ । आमाबुबाको सोच मलाई इन्जिनियर बनाउने थियो । तर, सानैदेखि हिरो बन्ने रहर भएकाले फिल्म क्षेत्रमा करिअर बनाउने निधो गरेँ । मेरो निर्णयमा बुबाले एकदमै सपोर्ट गर्नुभयो । 

फिल्ममा आउनुअघि ¥याम्प सो, फोटो सुट, विज्ञापन आदिमा काम गरिसकेको हुनाले फिल्मका लागि क्यामरा फेस गर्न त्यति गाह्रो भएन । अडिसन दिएपछि अन्तर्वार्ताका लागि छानिएँ । त्यसमा पनि पास भएँ । छनोट भएपछि सुटिङ सुरु भयो । फिल्ममा सलोन बस्नेत, कुसुम श्रेष्ठ, मरिष्का पोखरेल, सञ्जित भण्डारीलगायत कलाकारसँग काम गर्ने मौका पाएँ । सबै जना एकदमै सहयोगी हुनुहुन्थ्यो । मैले नजानेको कुरा सिकाउनुहुन्थ्यो । उहाँहरूको साथ र सहयोगका कारण काम गर्न सजिलो भएको थियो । 

सुटिङका क्रममा सलोन बस्नेतसँग बढी घुलमिल भएँ । उनले मलाई हरेक कुरामा सहयोग गर्थे । अभिनय पढेको र सिकेको हुनाले हरेक सिन राम्रोसँग गर्नुपर्छ भन्ने लाग्थ्यो । अरू सिन त ठीक थिए तर हिरोइनसँग किस सिन गर्दा अलि अप्ठ्यारो लाग्यो । पहिलो पटक भएर होला । तर, पछि एउटा कलाकारले जस्तोसुकै चरित्रमा पनि भिज्न सक्नुपर्छ भन्ने लाग्यो । यसपछि नहिच्किचाई सुटिङ सकाएँ । सुटिङ गरिरहँदा कता–कता सपनाको दुनियाँमा पुुगेको जस्तो पनि लाग्थ्यो ।

सुटिङमा एकदमै रमाइलो भयो । कुस्मा, पोखरा, बेनी, इलामलगायत ठाउँमा फिल्मको सुटिङ भएको थियो । सुटिङ सकिँदा चाहिँ अलि नरमाइलो लाग्यो । पूरै टिम साथीभाइजस्ता भइसकेका थियौँ । त्यसैले छुट्टिँदा नराम्रो लाग्यो । फिल्मबाट धेरै आशा गरेको थिएँ । तर, सोचजस्तो सफलता हात लागेन । त्यो देख्दा दुःख लागे पनि निराश चाहिँ भएको छैन । नयाँ फिल्मको अफरको प्रतीक्षामा छु ।
 

तपाईको कमेन्ट