प्यागोडाको कला प्रदर्शनी

writer

सम्पूर्ण

बिहिबार, २१ चैत २०७५


काठमाडौँ, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा प्यागोडा ग्रुपले कला प्रदर्शनी आयोजना गरेको छ । प्रदर्शनी चैत ९ गतेदेखि १७ गतेसम्म चलेको थियो । प्यागोडा ग्रुपले गरेको प्रदर्शनीमा रोशन प्रधान, पासाङ (मंगोल पुत्र), किशोर ज्योति (युवा झिल्को), माला श्रेष्ठ, प्रद्युम्न श्रेष्ठ, लिजा गैरे र रुद्रबहादुर पुन गरी सात जना कलाकारका पेन्टिङ राखिएका छन् । प्यागोडा गु्रपले हरेक वर्ष विविध शैलीमा पेन्टिङ प्रदर्शनीमा ल्याउने गरेको छ ।

रोशन प्रधानले परम्परा र प्रविधिको समायोजन गरी चित्र बनाएका छन् । ‘हाम्रो परम्परा, मौलिकता र जीवनशैलीसँग प्रविधि जोडिएको छ,’ उनले भने, ‘प्रविधि आजको युगमा शक्तिशाली साधन भएकाले यसलाई भगवान्को दर्जा दिँदै पेन्टिङ बनाएको हुँ ।’ 

किशोर ज्योति मानिस आफ्नो स्वार्थका लागि पृथ्वीको उपयोग कसरी गर्दै छ भन्ने कुरा पेन्टिङमा देखाउन खोजेका बताउँछन् । लिजा गैरेको पेन्टिङमा एक महिला र अस्ट्रिज देख्न सकिन्छ । एउटा सुनौला सिक्री अस्ट्रिजको घाँटीमा बाँधिएको छ र त्यही सिक्री महिलाको नाक लगाउने नत्थी भएको छ । ‘चित्रमा महिलाको बाध्यकारी अवस्था देखाउन खोजेकी छु,’ उनले भनिन् ।

पासाङले पेन्टिङबाट बोधीसत्वको भावलाई दर्शाएका छन् भने रुद्रबहादुर पुनले परम्परागत खेतीपातीका साधनहरूलाई क्यानभासमा उतारेका छन् । ‘हाम्रो अघिल्ला पुस्ताको जीवनशैली, गाउँघर, खेतीबारी कस्तो थियो भन्ने कुरा आजको पुस्तालाई देखाउन खोजेको हुँ,’ उनले भने । प्रद्युम्न श्रेष्ठ चित्रमा उपत्यकाका मठमन्दिर, परम्परा र संस्कृति हराउँदै गएको संकेत गरेको बताउँछन् । माला श्रेष्ठका चित्रले नारी भावलाई दर्शाएको छ । 

तपाईको कमेन्ट