दर्शक ‘भगवान्’ कि ‘दुश्मन’ ?

writer

दीपेन्द्र लामा

बिहिबार, २१ चैत २०७५


विभिन्न सांस्कृतिक पृष्ठभूमिबाट आएकाले सबै नेपाली कलाकारले एउटै धर्म मान्दैनन्। उनीहरूका धर्म बेग्लाबेग्लै छन्। यो स्वाभाविक पनि हो। तर, उनीहरूका धर्म अलगअलग भए पनि भगवान चाहिँ एउटै छन्, दर्शक।

मिडियासँगको अन्तर्वार्तामा उनीहरू आपैmँले स्विकार्दै आएको कुरा हो यो। दर्शकलाई भगवान्को दर्जा नदिने कलाकार नेपालमा बिरलै पाइएला। फिल्मका निर्माता र निर्देशक पनि यही कोटीमा पर्छन्। फिल्म रिलिजको बेला दर्शकलाई भगवान्को उपाधि दिँदै उनीहरू ‘वरदान’ नै माग्छन्, ‘फिल्म हेर्न आइदिनुहोला।’

अरू मान्छे घरमा भगवान्को बास होस् भन्ने कामना गर्छन्। तर, फिल्मकर्मी चाहिँ सिनेमा हलमा भगवान्को बास होस् भनेर पूजाअर्चना गर्छन्। हलमा दर्शक अर्थात् भगवान्को आगमन गराउन अनेक विधि अपनाउन उनीहरू पछि पर्दैनन्।

जबकि दर्शक भगवान् नै होइन। दर्शकलाई भगवान् मान्ने उनीहरूको सोच गलत हो। त्यसो भए दर्शक के हो त ? वास्तवमा दर्शक त फिल्मकर्मीका लागि ‘दुश्मन’ हुन्। फिल्म उद्योगमा प्रगति गर्ने हो भने फिल्मकर्मीले दर्शकलाई भगवान् होइन, ‘दुश्मन’का रूपमा ग्रहण गर्नुपर्छ। दर्शक कसरी फिल्मकर्मीका लागि ‘दुश्मन’ हुन् ? यहाँ चर्चा गरिन्छ। 

जब फिल्मको रिलिज डेट नजिकिन्छ, तब त्यसका कलाकार, निर्माता, निर्देशक र अरू प्राविधिक पालैपालो हात जोड्दै दर्शकसमक्ष बिन्ती चढाउँछन्, ‘हामीलाई तपाईंको मायाको खाँचो छ। हामी जुन अवस्थामा आइपुगेका छौँ, त्यो सबै तपाईंहरूको मायाले गर्दा हो। कृपया यसपालि पनि फिल्म हेर्न आइदिनुहोला।’

फिल्म तामझामका साथ रिलिज हुन्छ। हलमा दर्शकको भीड हुन्छ भन्ने आशा गरिन्छ। तर, अहँ, दर्शक आइदिँदैनन्। कलाकारहरूको त्यत्रो अनुनयविनय खेर जान्छ। आफ्ना भक्तजनको पुकार नसुनिदिने दर्शक दुश्मन नभए के त ?

फिल्मको गीत युट्युबमा रिलिज हुन्छ। दर्शकले गीत औधी रुचाइदिन्छन्। त्यही गीतमा नाच्छन्, रमाइलो गर्छन्। गीत हिट हुन्छ। निर्माता–निर्देशकले गीतलाई ‘भजन’का रूपमा लिएका हुन्छन्। गीत हिट हुनुलाई भगवान्ले भजन रुचाएको सोच्छन्। अब त भगवानले पक्कै पनि आशीर्वाद दिनेछन् भन्नेमा निर्माता ढुक्क भएर रिलिज डेटको प्रतीक्षामा बस्छन्।

गीतपछि फिल्मको ट्रेलर आउँछ। ट्रेलरलाई भगवान्प्रतिको एउटा भाकल मान्न सकिन्छ। ‘फिल्म हेर्न आउनुस्, हजुर तृप्त हुनुहुनेछ, निराश हुनु पर्नेछैन’ भन्ने खालको भाकल हो ट्रेलर।

भाकल मीठै हुन्छ। भाकल कसलाई मन पर्दैन र ? फेरि भक्तजनको भाकलप्रति नजर दिनु भगवान्को कर्तव्य पनि हो। भगवान्ले भाकल सुनिदिन्छन् अर्थात् दर्शकले ट्रेलर हेरिदिन्छन्। ट्रेलरको भ्युज पनि २० लाखभन्दा बढी पुग्छ। त्यसको कमेन्टमै कतिपय दर्शकले फिल्मलाई हिट हुन्छ भनेर बधाई दिइसक्छन्।

भगवान्ले भाकल पनि रुचाइदिनुभयो भन्दै निर्माता–निर्देशक झन् निश्चिन्त हुन्छन्। हलसम्म आएर प्रसाद ग्रहण अर्थात् फिल्म हेरिदिनेछन् भन्ने कुरामा उनीहरू विश्वस्त हुन्छन्। हुनु स्वाभाविक पनि हो। आखिर भजन र भाकलले राम्रैसँग कोलाहल मच्चाइरहेका छन्।

निर्माता–निर्देशकले दर्शकलाई सरप्राइज दिन्छु भन्दै फिल्म बनाएका हुन्छन्। उत्कृष्ट मनोरञ्जनको सरप्राइज। तर, सरप्राइज दर्शकले पो दिन्छन्, हलमा उपस्थित नभइदिएर। त्यत्रो भजन गायन र भाकल गर्दा पनि भक्तजनको पुकार नसुनिदिने दर्शक कसरी भगवान् ? दर्शक त ‘दुश्मन’ नै हुन् नि। ट्रेलरमा २० लाख चोटि क्लिक गर्नेले फिल्मको दुई लाख वटा टिकट काटिदिए पनि कति राहत हुन्थ्यो। त्यति पनि नगरिदिने दर्शकलाई ‘दुश्मन’ भन्दा फरक पर्दैन।

फिल्मकर्मीहरू अरूको फिल्मसँग डराउँदैनन्। अरूका फिल्मलाई कम आँक्छन्। त्यही भएर त एकैदिन फिल्म रिलिज गरेर भिड्न तयार हुन्छन्। उनीहरूमा यत्तिको ताकत कसरी आउँछ त ? पक्कै पनि भगवान्माथि भरोसा भएर। 

सबैजसो कलाकारलाई के विश्वास हुँदो रहेछ भने ‘भगवान्ले मेरो मात्र पुकार सुन्नेछन् अर्थात् दर्शक जति मेरै फिल्ममा मात्रै आउनेछन्, अरूका फिल्ममा आउँदैनन्... अरूमाथि भगवान्ले निगाह नै गर्दैनन्... भगवान्लाई मेरो मात्र चिन्ता छ...’ आदि इत्यादि।

तर, उनीहरूको यस्तो खाले विश्वास फिल्म रिलिज हुनासाथ भताभुंग हुनपुग्छ। दर्शकहरू उनीहरूका फिल्ममा होइन अरूका फिल्ममा ओइरिदिन्छन्। एउटा फिल्ममा आउने, अर्कोमा नआउने दर्शक कसरी भगवान् ? यस्तो ‘भेदभाव’ त दुश्मनले नै गर्ने हुन् नि। 

भक्तजनले निकै ‘मिहेनत’का साथ फिल्म बनाएका हुन्छन्। लाखौँ रुपैयाँ खर्च भएको हुन्छ। फिल्म बनाइसकेपछि भक्तजनले प्रार्थना पनि गर्छन्, फिल्मको सफलताका लागि। 

तर, भगवान् अर्थात् दर्शक चाहिँ ‘आज पानी परेको छ, जाडो बढेको छ वा गर्मीले पोल्छ’ भन्ने बहाना गर्दै हलसम्म आइदिँदैनन्। जबकि फिल्ममा भक्तजनको त्यत्रो तन, मन, धनको खर्च भएको छ। भगवान्लाई त झरी, जाडो वा गर्मीको पर्वाह नहुनुपर्ने होइन र ? प्रकृतिका सामान्य अवरोधसँग डराउने पनि भगवान् हुन्छन् र ? 

निर्माताले फिल्म बनाउन तीन करोड रुपैयाँसम्म खर्च गर्छन्। एक करोड त जुनसुकै फिल्ममा खर्च भइरहेको हुन्छ। अहिलेको समयमा करोडको लगानी ठूलै जोखिम हो।
तैपनि, दर्शकले टिकट काटिहाल्छन्, पैसा कसो नउठ्ला त भन्दै निर्माताले लगानी गर्छन्। आखिर चार सय रुपैयाँमा राम्रो हलको टिकट पाइहालिन्छ। निर्माताले मनमनै सोचेका हुन्छन्, ‘मैले करोड लगानी गरेको छु, दर्शकले तीनचार सयको टिकट किन नकिन्लान् र ?’

तर, दर्शक चाहिँ एउटा फिल्म हेर्दा टिकट, गाडीभाडा र चियापानी गरेर पाँचछ  सय खर्च हुन्छ भन्दै हिच्किचाउँछन्। र, सकेसम्म हल पुग्दैनन्। जम्मा पाँचछ सय खर्च गर्न कञ्जुस्याइँ गर्ने दर्शक निर्माताका लागि कसरी भगवान् ?

बल्लबल्ल फिल्म हेर्न आएका दर्शक पनि भगवान् नै हुन्छन् भन्ने ग्यारेन्टी छैन। फिल्म हेर्छन्, राम्रो लागेन, झुर छ भन्दै सामाजिक सञ्जालमा लेखिदिन्छन्। फिल्मका राम्रा होइन, नराम्रा कुरा कोट्याइदिन्छन्।

निर्माता–निर्देशक आफ्नो फिल्म राम्रो छ भनेर नाक फुलाएर बसेका हुन्छन्। यत्तिको फिल्म त बनेकै छैन भन्ने खालको व्यहोरा देखाउँछन्। अनि तिनकै फिल्मलाई झुर भनेर लेखिदिन्छन् दर्शकहरू। यस्तो काम त दुश्मनले नै गर्छन् नि, भगवान्ले कहाँ गर्छन् र ?

कतिपय दर्शक त हलमा गएर हिन्दी र अंग्रेजी फिल्ममात्र हेर्ने खालका हुन्छन्। जबकि, हिन्दी र अंग्रेजी फिल्मवालाले दर्शकलाई भगवान् मान्दै पूजा गरेका पनि हुँदैनन्। तैपनि दर्शक उनीहरूलाई नै बढी दर्शन दिन्छन्। ती दर्शकमा नेपाली फिल्मप्रति रुचि नै पाइँदैन। उनीहरूमध्ये केहीले त नेपाली फिल्म नहेरेको बीसौँ वर्ष भइसक्यो होला। नेपाली फिल्म राम्रो बन्लान् भन्ने उनीहरूलाई पत्यार छैन। पक्कै पनि नेपाली निर्माता–निर्देशकका लागि उनीहरूभन्दा ठूलो ‘दुश्मन’ अरू हुनै सक्दैनन्।

तपाईको कमेन्ट