खाडीका साइँलीमाथि न्याय

writer

सामीप्यराज तिमल्सेना

बिहिबार, २१ चैत २०७५


महिलालाई केन्द्रमा राखेर कथावाचन गर्नु ‘साइँली’को सबैभन्दा प्रशंसनीय पक्ष हो। इजरायल वा खाडीका धेरै मुलुक जाने नेपाली महिलाको संख्या ठूलो छ, जो परिवारको सुखचैनका लागि ‘साइँली’ बन्न विवश छन्। फिल्मले उनीहरूको प्रतिनिधिलाई उभ्याएर असंख्य गरिखाने साइँलीमाथि न्याय गरेको छ। 


 

आर्थिक रूपले जीर्ण र रोगी देश नेपालका लागि वैदैशिक रोजगारी एउटा यस्तो औषधि भएको छ, जसले रोग निको गराउन त खोज्छ तर सँगै अनेक ‘साइड इफेक्ट’ निम्त्याउँछ। यसको प्रतिप्रभावमाथि गम्भीर बहस हुन बाँकी नै छ। तर, यो औषधि खानुपर्ने नेपालीको बाध्यता र रहरमाथि भने फिल्म बन्ने क्रम जारी छ। हाल हलमा चलिरहेको ‘साइँली’ नयाँ दृष्टिकोणसहित यही बहसमा प्रवेश गर्न आइपुगेको छ।

धेरै वर्षपहिले निर्देशक शम्भु प्रधानले खाडी जानुपर्ने बाध्यता र त्यहाँका दुःखलाई समेटेर औसत फिल्म बनाएका थिए, ‘नेपाल प्यारो छ’। विषय नयाँ समात्ने तर प्रस्तुतिमा पुरातन ढर्रा नछाड्ने नेपाली फिल्ममेकरको ‘विडम्बना’बीच यो फिल्मले प्रशस्त ‘हाइप’ पाए पनि यसको व्यापार भने ठण्डा थियो। त्यसपछि यही विषयको सेरोफेरोमा ‘राहदानी’ बनेको थिए र यसले पनि वैदेशिक रोजगारीको बाध्यता र खाडीमा नेपालीको हालतलाई केन्द्रमा राखेको थियो।

दुई महिनाअघि प्रदर्शनमा आएको ‘बुलबुल’को पृष्ठभूमिमा पनि वैदेशिक रोजगारी थियो, जहाँ विदेश गएको श्रीमान् कुरिरहेकी श्रीमतीको मानसिक द्वन्द्व कथावाचनको केन्द्रमा थियो। वैदेशिक रोजगारीको कार्य–कारणमाथि एक दृश्य पनि नखर्चिएर वैदेशिक रोजगारीको पीडा वर्णन गर्ने ‘बुलबुल’ यो विषयमा बनेको उत्तम सिनेमा मान्दा त्यति आपत्तिजनक नहोला।  

बुलबुलले जहाँ साइँलो विदेश गएका कारण साइँलीले भोगिरहेको रिक्ततालाई कथावाचनको माध्यम बनाएको थियो, त्यहीँ ‘साइँली’ले साइँलीहरू कसरी साइँलाको भूमिका निर्वाह गर्न तयार छन् भन्ने वर्तमानको तथ्यलाई देखाएको छ। रामबाबु गुरुङ निर्देशित फिल्मले धाप पाउनुपर्ने पहिलो कारण यही हो कि यसले समाजनिर्मित ‘जेन्डर’को भूमिकालाई मीठो शैलीमा चुनौती दिएको छ। 

फिल्मको नाम ‘साइँली’ हेमन्त रानाले गाएको गीत ‘सुन साइँली’बाट साभार गरिएको हो। सार्वजनिक भएको छोटो समयमै ‘भाइरल’ बनेको यो गीतले नेपालको सामाजिक यथार्थलाई सुरिलो भाकामा प्रस्तुत गरेको थियो। गीतको आशयलाई लिएर केही अर्थपूर्ण बहस पनि भएका थिए। त्यो गीतमा विदेशिन बाध्य एक युवकले आफ्नी मायालुलाई सम्झाउन भनेको ‘चालीस कटेसि रमाउँला’ आज विम्बका रूपमा स्थापित भइसकेको छ।

त्यसैले सबैको अनुमान थियो, फिल्म यही गीतको विस्तृत ‘भर्सन’ मात्र होला। तर, निर्देशक तथा लेखक रामबाबु गुरुङले ‘आर्टिस्टिक ट्याक्ट’ (कलात्मक चातुर्य) का साथ गीतको भावलाई सर्लक्क उल्टाएर पर्दामा प्रस्तुत गरेका छन्। पित्तृसत्तात्मक सोचलाई मात्र पृष्ठपोषण गरेको आरोप खेप्दै आएका फिल्ममेकरलाई गुरुङले ‘साइँली’ को रूपमा ‘फेस सेभिङ’को सन्तोषजनक हतियार दिएका छन्। 

इमानदार कथावाचन 

‘साइँली’को कथा गुरुङका अघिल्ला फिल्ममा झैँ सरल छ। एउटी केटी उनलाई मन पराउने एउटा केटा अनि केटाको प्रेमलाई साकार पार्न सकेको गरिदिने एउटा साथी। यसअघिका फिल्ममा दयाहाङ राई यस्तो प्रेमी हुन्थे, जसलाई मन परेकी केटी पाउन हुनसम्मको झन्झट आइपथ्र्यो। तर, यसमा राईले यसअघि निर्वाह गर्दै गरेको भूमिका गौरव पहारीलाई सुम्पिएका छन् भने उनी सहयोगी साथीका रूपमा छन्।

अनि हत्ते गर्नुपर्ने युवती बनेकी छिन्, साइँलीमाया अर्थात् मेनुका प्रधान। दुवैको जुगलबन्दीले उनीहरू साइँलीमायाकोे मन जित्न त सफल हुन्छन्। तर, साइँली र पीताम्बर (गौरव पहारी)को प्रेममा दोहोरो बाधा छ। एउटा त बाबु फुर्तीमान (माओत्से गुरुङ) छोरीको प्रेमको बर्खिलाप छन् भने दोस्रो, पितेकै बा प्रकाश घिमिरेले फुर्तीमानसँग लिएको ऋण तिरेका छैनन्।

बाध्य भएर साइँली र पितेले भागी विवाह गर्छन्। घटनाक्रम यसरी विकसित हुँदै जान्छ कि पछि आफ्नै बाउको ऋण तिर्न साइँली विदेश जानुपर्ने बाध्यता आइलाग्छ। साइँलीको विदेश यात्रा, त्यो बीचमा पीताम्बरको जीवनमा आउने परिवर्तन र सुखद अन्त्यसँगै फिल्मले बिट मार्छ। मध्यान्तरअघि मनोरञ्जन दिनमा केन्द्रित फिल्म मध्यान्तरपछि भने खास विषयवस्तुमा प्रवेश गर्छ। मध्यान्तरपछि लय समातेको फिल्मले अन्त्यसम्मै त्यो लय कायम राखेको छ। बीचमा बिझाउने र नभए पनि हुन्थ्यो लाग्ने थुप्रै दृश्य छन्, तर कथावाचनमा निर्देशकले देखाएको इमानदारीले त्यस्ता दृश्य क्षम्य लाग्छन्। 

असंख्य साइँलीमाथि न्याय 

महिलालाई केन्द्रमा राखेर कथावाचन गर्ने निर्माता–निर्देशकको प्रयास ‘साइँली’को सबैभन्दा प्रशंसनीय पक्ष हो। नेपालमा इजरायल वा खाडीका धेरै मुलुक जाने महिलाको संख्या ठूलो छ, जो परिवारको सुखचैनका लागि साइँली बन्न विवश छन्। फिल्मले उनीहरूको प्रतिनिधिलाई उभ्याएर असंख्य गरिखाने साइँलीमाथि न्याय गरेको छ।

निर्देशक गुरुङले साइँलीहरूको यो विवशतालाई नेपालको प्रसिद्ध कृति ‘मुनामदन’सँग जोडेरसमेत प्रस्तुत गरेका छन्, जसले कथावाचनमा गुरुङ सचेत छन् भन्ने पुष्टि गर्छ। ‘मुनामदन’मा मदन आफूमाथि लागेको ऋण उतार्न भोट जान विवश हुन्छन् र यहाँ साइँली आफ्नो श्रीमान् र ससुरामाथि लागेको ऋण तिर्न विदेशिने निर्णय गर्छिन्। 

छोटा–मीठा संवाद 

गुरुङमाथि एउटै कथा ओल्टाइपल्टाई गरेर फिल्म बनाउने गरेको आरोप ‘साइँली’ले पनि चिर्न सक्दैन तर उनका सबै फिल्मको समान विशेषता के हो भने उनका हरेक चरित्रले आफ्नोपनको आभास गराउँछन्। ‘साइँली’का चरित्रले पनि त्यो विश्वास गुमाएका छैनन्। तर, तिनले बोल्ने संवादमा गुरुङले थप मेहनत गरेका छन्। उखान–टुक्कासहितका छोटा–छोटा संवादले नेपाली भाषाको मिठासलाई निर्वाह गरेका छन्।

खास गरी, दयाहाङ राईले बोल्ने लवजमा त्यो मिठास महसुस गर्न सकिन्छ। ‘साइँली’को अर्को उल्लेखनीय पक्ष कलाकारको अभिनय हो। फिल्मका हरेक पात्रसँग गुरुङले गजबको काम लिएका छन्। प्रधानले चञ्चले र गम्भीर दुवै भूमिकामा आफूलाई उम्दा साबित गरेकी छिन् भने राई सधैँझैँ पात्र आत्मसात् गर्ने मामिलामा सफल देखिएका छन्। उनले भरपूर कमेडी गरेका छन् तर कतै पनि ‘लाउड’ लाग्दैनन्।

कमेडी फिल्म बनाउने धेरैले उनको यो भूमिका नियालेर हेर्ने हो भने कमेडीका नाममा गरिने ‘जोक ओभरडोज’बाट दर्शकले मुक्ति पाउनेछन्। ‘मञ्जरी’बाट आफूलाई प्रमाणित गरेका गौरव पहारी बीचमा कहीँ हराएका थिए, यो फिल्ममा फेला परेका छन्। मध्यान्तरपछि पहारीको भूमिका लेखनमा लेखक चुकेका छन् तर पनि उनी अभिनयमा राई, प्रकाश घिमिरे र माओत्से गुरुङसँगै कुमकुम छन्। 

प्राविधिक पाटोमा पनि फिल्म स्तरीय छ। शैलेन्द्र डी कार्कीको छायांकन, रोहित शाक्यको पाश्र्वध्वनि, उत्तम न्यौपानेको साउन्ड डिजाइन फिल्मका सबल पक्ष हुन्। 

तथापि...

फिल्म धेरै पक्षमा सफल हुँदाहुँदै पनि केही कुरामा भने नराम्ररी चुकेको छ। घिमिरेले लिएको ऋण फिल्मको मुख्य ‘ट्वीस्ट’ हो। तर, लेखक तथा निर्देशकले यसलाई विश्वसनीय बनाउन सकेका छैनन्। उनले लिएको ऋण कति थियो ? अनि छोरालाई कसरी बाबुले लिएको ऋण थाहा छैन ? अनि पहारी र प्रधानको घरको दूरी कति हो ? गाउँमा टाढा–टाढासम्मका मानिस पनि एक आपसमा परिचित हुन्छन् तर राति पनि जान मिल्ने ठाउँमा दुवै कसरी अपरिचित रहन पुगे ?

श्रीमती विदेश जाने कुरामा असहमत भएको पीताम्बर किन आफैँ काम गरेर ऋण तिर्ने प्रयास गर्दैनन् ? यस्ता धेरै प्रश्न फिल्ममा अनुत्तरित छन्। पीताम्बरको चरित्रलाई पनि निर्देशकले जथाभावी प्रयोग गरेका छन्। इगोकै कारण उनलाई चरित्रहीन देखाएको पत्यारलाग्दो छैन। पात्रको रूपान्तरणमा राम्ररी काम नगरेको प्रमाण पूर्ववडाध्यक्ष तथा दलालको चरित्रमा पनि देख्न सकिन्छ।

सुरुमा दलालजस्ता लाग्ने उनी फिल्मको अन्त्यसम्म आइपुग्दा ‘भला मानस’मा परिवर्तन भएका छन्। विदेश पठाउनलाई दिनरात कचकच गर्ने मानिस सजिलै अर्काको दुःख उम्काउन तयार हुन्छ ? त्यो पनि निःस्वार्थ ? साइँलीको विदेश यात्राको ‘टाइम ट्रान्जिसन’ पनि फिल्मको बिझाउने पाटो हो। उनी कति समय विदेश बसिन् र फर्किन् भन्ने कुरा पनि दर्शकको मनमा प्रश्न बनेर बिझिरहन्छ। 

०००

नेपाली दर्शकका लागि कस्ता फिल्म बनाउने भन्ने बहसको इतिहास लामो छ। दर्शकलाई मन पर्ने फिल्म बनाउने चक्करमा धेरै निर्माताको बिल्लीबाठ पनि भएको छ। यही बहसका बीच रामबाबु गुरुङले ‘कबड्डी’ बनाएर पैसा र प्रशंसा दुवै कमाएका थिए। उनको पछिल्लो फिल्म ‘साइँली’ यही बाटोमा छ। जसमा बजारले रुचाउने कमेडी मात्र छैन, सामयिक विषयको जोडदार प्रस्तुति पनि छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि