किन हुन्छ बलिउडको आलोचना ?

writer

दीपेन्द्र लामा

सोमबार, १८ चैत २०७५


नेपालमा बलिउडको गहिरो पकड छ। दर्शक होऊन् या फिल्मकर्मी, सबैले बलिउडलाई नै पछ्याउने गर्छन्। दर्शक बलिउडका फिल्म नबिराई हेरिदिन्छन् भने फिल्मकर्मी तिनै बलिउडको नक्कल गर्न दिमाग र पैसा लगाउँछन्। नेपालका धेरैजसो फिल्मकर्मीका लागि बलिउड एउटा विश्वविद्यालय नै हो भन्दा फरक पर्दैन।

तर, त्यही बलिउड अन्यत्र आलोचित छ। गैरहिन्दीभाषी दर्शकले बलिउडका सुपरहिट फिल्महरू हेरेपछि खुलेरै आलोचना गर्छन्। स्वयं भारतमै पनि बलिउडलाई आलोचना गर्नेको कमी छैन। 

केही अपवादबाहेक बलिउडमा कमसल नै फिल्म बन्ने गर्छ। जति होहल्ला छ, स्टारडम छ, त्योअनुसारको स्तरीय फिल्म बलिउडले दिन सकेको छैन। त्यसैले बलिउड आलोचित भएको हो। बलिउडका फिल्महरू कमसल हुनुमा तल उल्लिखित ‘इलिमेन्ट’को योगदान छ। 


घिसिपिटी प्रेमकथा

बलिउडका सबैजसो फिल्ममा प्रेमकथा बुनिएको हुन्छ। लभस्टोरी फिल्मको कुरा नगरौँ। एक्सन फिल्ममा समेत प्रेमकथा हेर्न पाइन्छ। प्रेमकथा सबैलाई मन पर्छ। दर्शकले पनि किन प्रेमकथा आयो भनेर आपत्ति जनाउँदैनन्। सजिलै ग्रहण गरिदिन्छन्।

समस्या घिसिपिटी प्रेमकथामा हो। बलिउडले दशकौँदेखि एकैखाले कथा भन्दै आएको छ। एउटा गरिब केटो, एउटी धनी केटी र केटीको परिवारबाट अवरोध। अन्त्यमा केटाले केटीलाई भगाउने। यो सूत्रमा अहिले पनि फिल्म बन्छन्। विगतमा कैयौँ बने। यस्तै घिसिपिटी कथाले हो, दर्शकलाई निराश बनाउने।

अनि अर्को दुःखलाग्दो पक्ष छ, ५० वर्षको हाराहारीका नायकले भर्खर २० कटेकी नायिकासँग रोमान्स गर्नु। बाहिरतिरका फिल्ममा ५० छेउछाउका नायकहरूको प्रेम ४० छेउछाउका नायिकासँग देखाउने गरिन्छ, ताकि त्यो अलि विश्वसनीय लागोस्। बलिउडले यसमा कहिले ध्यान देला ?

बेमौसमी आइटम गीत

फिल्मको कथा निश्चित दिशामा बढिरहेको हुन्छ। दर्शकलाई पनि कौतूहलले च्याप्दै लग्छ। तर, त्यही बेला गीत आइदिन्छ। त्यो पनि आइटम गीत। त्यस्तो गीतमा फिल्मकी नायिका नाच्छे। कहिलेकाहीँ कुनै अर्कै अभिनेत्री ‘केमियो’का रूपमा उपस्थित भई नाच्न पनि सक्छे। जेहोस्, नाच र गीत अलि उत्तेजक नै हुन्छ।

गीतको लोकसन प्रायः नाइट क्लबमा हुन्छ। नायिकाले पोल डान्स पनि गर्न सक्छे। नायक टिसर्ट खोलेर नाच्न पछि पर्दैन। यस्ता आइटम गीतले फिल्मको संरचनामै अवरोध सिर्जना गरिरहेको हुन्छ। तैपनि बलिउडले यसलाई त्याग्न सकेको छैन।

मेलोड्रामाको ओभरडोज

बलिउड फिल्मको झर्काेलाग्दो पक्ष मेलोड्रामा पनि हो। दर्शकले जस्तो खाले घटना रुचाउँदै आएका छन्, त्यस्तै प्रकारका घटना मेलोड्रामामा समावेश गरिन्छ। दर्शकलाई रुवाउनुपर्छ भन्दै कारुणिक दृश्यहरू संयोजन गरिन्छ। हाँसो नपुगेको महसुस भएमा कमेडी दृश्य जोडिन्छ।

नायकलाई बहादुर देखाउन गुन्डाहरू कुटेको देखाइन्छ। त्यो पनि नायिकाकै अगाडि। किनभने, नायकको बहादुरी देखेर नायिका प्रभावित हुनु जो छ।
नायिकामाथि गुन्डाहरूले हातपात गर्दा पुलिस होइन, नायक आइपुग्छ। नायकले गुन्डालाई मार्नै खोजेको हुन्छ, पुलिस आइपुग्छ र त्यसो हुनबाट जोगाउँछ। यो पनि मेलोड्रामा नै हो। यस्तो मेलोड्रामा पचाउन गाह्रै हुन्छ।

छिपछिपे प्रस्तुति

कुनै पनि विषयको गहिरो प्रस्तुति बलिउडमा खासै पाइँदैन। विषयलाई छुने प्रयास त हुन्छ तर गहिराइमा पुगेको हुँदैन। अनावश्यक मसलामै अल्मलिँदा फिल्म छिपछिपे बन्न पुग्छ।

एउटा यस्तै फिल्म हो, सलमान खानको ‘सुल्तान’। कुस्ती खेलाडीका बारेमा बनाइएको यो फिल्म अन्त्यतिर गएर फ्रिस्टाइल बक्सिङमा पुगेर टुंगिन्छ। यसले न त कुस्तीको गहिराइ छुन सकेको छ, न त बक्सिङको। फिल्मलाई यथार्थपरक बनाउनेभन्दा पनि मारधाड, रोनाधोना राखेर विषयदेखि पन्छिएको छ। 

शाहरुख खानको पछिल्लो फिल्म ‘जिरो’मा पनि यही कमजोरी छ। मंगलग्रहमा पुग्ने प्रसंगलाई निकै सतही देखाइएको छ। अन्तरिक्ष विज्ञानको धज्जी नै उडाइएको छ।


हलिउडको फोटोकपी

भारत संसारको सातौँ ठूलो देश हो। यहाँ ७ सय ८० भन्दा बढी भाषा बोलिन्छ, जुन पपुवा न्युगिनीपछि सबैभन्दा धेरै हो। भौगोलिक रूपले पनि भारतमा विविधता छ। त्यसैले यहाँ मौलिक कथाको कुनै अभाव छैन।

तर, बलिउडका फिल्मकर्मी आफ्नै देशको कथा पस्किनुको सट्टा हलिउड वा अरू विदेशी फिल्मको नक्कलमै रमाइरहेका छन्। बलिउडका चर्चित फिल्महरू नै विदेशी फिल्मबाट प्रभावित छन्। जस्तै, सन् १९७५ को ‘शोले’, जापानी विख्यात फिल्म ‘सेभेन सामुराई’बाट प्रभावित छ, जुन सन् १९५४ मा रिलिज भएको थियो। बलिउडले ‘स्कारफेस’बाट ‘अग्निपथ’, ‘ओल्ड ब्वाई’बाट ‘जिन्दा’, ‘रिजरभ्वायर डग्स’बाट ‘काँटे’, ‘गडफादर’बाट ‘सरकार’, ‘डेड पोयट्स सोसाइटी’बाट ‘मोहबतें’जस्ता फिल्म बनाएका छन्। यो सूची लामो छ।


सो पिस नायिका

हरेक फिल्ममा नायिका हुन्छे। मानौँ, नायिकाबिना फिल्म नै बन्दैन। नायिका हुनु नराम्रो होइन। तर, उसको उपस्थिति अर्थपूर्ण नहुनु चाहिँ नराम्रो हो। यदाकदा नायिकाप्रधान फिल्म पनि बन्ने गर्छन्। जस्तै, यही वर्ष ‘मणिकर्णिका’ रिलिज भयो। त्यस्ता फिल्ममा नायिकाको उपस्थिति मजबुत नै हुने गर्छ। यस्तो फिल्म कहिलेकाहीँ मात्रै बन्छ। 

बलिउडका धेरैजसो फिल्म हेर्नुस्, अर्थपूर्ण भूमिकामा उभिने अवसर नायिकाले बिरलै पाएकी हुन्छे। अधिकांश फिल्ममा उसलाई ‘सो पिस’का रूपमा प्रयोग गरिएको देखिन्छ। ‘सो पिस’ अर्थात् दर्शकको आँखालाई शीतल बनाउने एउटा बहाना।


फन्टुस फाइट

बलिउडमा एक्सन फिल्म पनि बन्छन्। तर, फाइटलाई मसलाकै रूपमा लिइने भएकाले हरेकजसो फिल्ममा यो हुन्छ नै। खिचाइमा आधुनिकता आए पनि बलिउडको फाइट फन्टुस लाग्छ। नायकलाई कुट्न दर्जनौँ गुन्डा आउँछन्। तर, सबैले घेरा हालेर एकैपटक कुट्दैनन्। पालैपालो कुट्छन्। र, नायकले एउटा गुन्डालाई कुट्दा अरू गुन्डा हेरिरहेका हुन्छन्।

गुन्डा बन्दुक लिएर आउँछ। तर, बन्दुक फालेर नायकसँग खाली हात भिड्न जान्छ। नायकलाई जति गोली हाने पनि लाग्दैन। गुन्डालाई एउटै गोलीले निशाना बनाउँछ। मसिनो पाखुरा भएको नायकले प्रहार गर्दा गुन्डा सात फन्का मार्दै भुइँमा बजारिन्छ। यस्ता हावादारी कोरियोग्राफीका उदाहरण प्रशस्तै छन्।

सिक्वेन्सबिनाको सिक्वेल

असल निर्देशकले सकेसम्म सिक्वेल बनाउँदैनन्। कथा लामो भएमा मात्र सिक्वेल बनाइन्छ। बलिउडमा चाहिँ अघिल्लो र पछिल्लो शृंखलाको कथासँग लेनदेन हुँदैन, सिक्वेल बनाइने गरिन्छ।
‘बाहुबली’का दुइटा शृंखला रिलिज भए। ‘ग्यांग्स अफ वासेपुर’को पनि सिक्वेल आएको थियो। यी दुवै फिल्मको सिक्वेल निर्माण जायज छ। दुवैको कथा लामो भएकाले दुई शृंखलामा बाँडिनु स्वाभाविक थियो।

तर, पछिल्लो समय बलिउडमा हिट फिल्मको ब्रान्ड भजाउन सिक्वेल बनाउने प्रवृत्ति मौलाएको छ। अचेलका सिक्वेलमा पात्र र कथाको सरोकार हुँदैन, सिर्पm कमाइको मात्र सरोकार हुन्छ। ‘टोटल धमाल’, ‘रेस–३’, ‘मर्डर–३’ शैलीका फिल्मले दर्शकको मन जित्न सकेनन्।

तपाईको कमेन्ट

मुख्य समाचार