‘नाच्न हम्मेहम्मे पर्‍यो’

writer

मेनुका कोइराला

सोमबार, १८ चैत २०७५


मल्लिका महत, अभिनेत्री

फिल्म ‘यात्रा’बाट मैले फिल्म क्षेत्रमा डेब्यू गरेकी हुँ। मेरो लागि सिनेमा क्षेत्र एकदमै नयाँ थियो। फिल्मको सुटिङ गर्नुअघि एक महिनाको कार्यशाला भयो। त्यहाँ मैले अभिनय सिकेँ। म्युजिक भिडियोमा काम गरेकाले क्यामरा मेरा लागि नौलो थिएन। तर, फिल्म म्युजिक भिडियोभन्दा निकै फरक रहेछ। काम गर्नै तरिका एकदमै भिन्न रहेछ।

क्यामरासँग नजिकिँदै गएपछि काम झन्–झन् चुनौतीपूर्ण लाग्न थाल्यो। काम गर्दा कतै मिलेन भने कसैले गाली पो गर्ने हो कि भन्ने डर मनमा लागिरहन्थ्यो। हरेक सिनमा लागि एकदमै मेहनत गरेकी थिएँ। ग्राहो सिन एक, दुई टेकमै ओके हुन्थ्यो भने कहिलेकाहीँ सजिलो सिनमा चारपाँच पटक टेक लिनुपथ्र्यो।

फिल्मका गीतको सुटिङ गर्न मलाई अलि गाह्रो भयो। मलाई खासै नाच्न आउँदैन। गीतमा बडी मुभमेन्ट बढी गर्नुपर्ने हुन्छ। हेटौँडाको घाममा नाच्नुपरेको थियो। लुगा पनि एकदमै टाइट, गीतमा नाच्न हम्मेहम्मे परेको थियो। फिल्मको सुटिङ हेटौँडा, सोलुखुम्बू, पोखरा र काठमाडौँमा भयो।

मलाई फिल्मका सबै कलाकारले उत्तिकै सहयोग गर्नुभयो। फिल्म क्षेत्र मेरा लागि नौलो भए पनि उहाँहरूले आफ्नो पुरानो साथीजस्तै व्यवहार गर्नुभयो। नजानेका कुरा ‘यसरी गर’ भनेर सिकाउनुभयो। काम गर्न टिमसँग सहजै भयो। सबैभन्दा बढी सहज सलोन (बस्नेत)सँग भयो। उहाँले मलाई धेरै कुरामा सहयोग गर्नुभयो। कुनै सिन गर्न गाह्रो भयो भने उहाँले सिकाउनुहुन्थ्यो। धेरै पटक सिकाउनुभयो। 

फिल्मको टिम परिवारजस्तै भइसकेको थियो। अफ स्क्रिनमा पनि हामी सबै मिल्ने साथी भइसकेका थियौँ। पहिलो फिल्मबाट मैले धेरै कुरा सिक्ने मौका पाएँ। सुटिङमा एकदमै रमाइलो भयो। फिल्ममा सलिनमान बानियाँ, सलोन बस्नेत, रेयर राई, प्रेक्षा वज्राचार्यलगायत कलाकार छन्। फिल्मबाट राम्रो प्रतिक्रिया पाउने आशा गरेकी छु। 

तपाईको कमेन्ट