कम्युनिस्ट जुट्न पनि सक्छन्

writer

सम्पूर्ण

सोमबार, २१ फागुन २०७४


नेपालमा कम्युनिस्ट पार्टीहरूको फुटको लामो शृंखला छ। कम्युनिस्टहरू एक भएर बस्नै सक्दैनन् भन्ने नजिर स्थापित भएको अवस्थामा दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का बीच एकीकरण हुने खबरले वामपन्थी वृत्तमा उत्साह छाएको छ। वामपन्थीहरू फुट्न मात्र होइन जुट्न पनि सक्छन् भन्ने बलियो नजिर यो एकताले दिनेछ।

 

फुट्नका लागि कुनै ठूलो निहुँ नै नचाहिने वामपन्थी दलहरू यसपटक निर्वाचनमा जनतासँग ‘हामी जुट्छौँ र तपाईंहरूका पक्षमा काम गर्छौं' भनेकै आधारमा जनअनुमोदित भएका थिए। नेपालमा वामपन्थी मत धेरै हुँदाहुँदै पनि उनीहरू टुक्राटुक्रा भएकै कारण नेपाली कांग्रेसले निर्वाचनमा धेरै मत ल्याउने यथार्थलाई यी दुई दलले यसपटक मनन गरेको देखिएको छ। 

 

दुई पार्टी एक हुने विश्वास जनतालाई दिलाउन सकेकै कारण उनीहरूले निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेका हुन्। निर्वाचनका बेला गरिएको वाचाअनुसार यी दुई पार्टीका बीच एकता नहुने अवस्था बन्दा जनताले आफूलाई धोका दिइएको ठान्नेछन्। एमाले र माओवादी केन्द्र बीचको वाम गठबन्धन ‘प्री–इलेक्सन अलाइन्स’ मात्र थिएन। पार्टी एकीकरणको यात्रा जुन बिन्दुमा पुगेको छ, त्यसबाट अघि बढेर नै एमाले र माओवादी केन्द्रले जनतासँग गरेका वाचा पूरा गर्न सक्नेछन्। 

 

दश वर्षीय सशस्त्र जनयुद्ध लडेको माओवादी र संसदीय राजनीतिमा आफूलाई पारंगत बनाउँदै आएको एमाले बीचको एकीकरणको सैद्धान्तिक आधारलाई लिएर राजनीतिक टीकाटिप्पणी पनि भइरहेको छ। यो दुई पार्टीको एकीकरण नभएर माओवादी एमालेमा विलय हुन लागेको भन्नेहरू पनि छन्। एउटै कम्युनिस्ट केन्द्र बनाउने भन्दै लामो समयदेखि हुँदै आएको बहसलाई एमाले र माओवादी केन्द्र बीचको एकता प्रयासले अझै घनीभूत बनाएको छ।

 

दुवै दल संसदीय राजनीतिमा प्रतिस्पर्धा गरिरहेकाले छुट्टाछुट्टै पार्टी बनाएर बसिरहनुको औचित्य नहुने भन्दै यो एकता प्रयास थालिएको हो। ६० र ४० प्रतिशतको भागबण्डामा निर्वाचन लडेका र ७० र ३० प्रतिशतमा जीत हासिल गरेका यी दुई दलको एकीकरण पनि प्रतिशतकै आधारमा हुने बताइएको छ।

 

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आलोपालो पार्टी र सरकारको नेतृत्व गर्ने, दुई अध्यक्ष प्रणालीमा जाने र सहअध्यक्ष हुने गरी एकीकरणको प्रारूप तयार भएको बताइएको छ। जेजस्तो प्रणाली र प्रारूपमा एकता गरे पनि त्यो दीर्घकालीन किसिमको हुँदा नै नेपालको वाम आन्दोलनलाई फाइदा पुग्नेछ। यो एकता प्रयास दीर्घकालसम्म जाने स्थिति बन्यो भने त्यसले अहिले छरिएर रहेका अन्य वाम घटकलाई पनि एकै ठाउँमा आउन बाध्य बनाउनेछ।

 

एउटै पार्टीभित्र पनि विभिन्न गुट र उपगुटमा विभक्त भएर राजनीति गरिरहेका नेताहरू एकढिक्का भएर अघि बढ्ने काम पक्कै पनि सहज छैन। पार्टीमा प्रतिशतको भागबण्डाले औपचारिकता पाइरहने स्थिति बन्यो भने त्यसले पार्टीलाई कहिल्यै पनि एकढिक्का हुन दिनेछैन। फरक विचारलाई पार्टीभित्र ‘स्पेस' दिनु लोकतान्त्रिक विधि भए पनि पार्टीलाई भागबण्डाकै आधारमा चलाउँछु भनेर सोच्नु घातक हुनेछ।

 

अहिले एकीकरणमा जान लागेका पार्टीहरू पटकपटक फुटेर र कैयौँ पटक जुटेर यो ठाउँमा आइपुगेकाले उनीहरूले विगतमा गरेका गल्ती नदोहोर्‍याउँदा नै यो एकताले सार्थकता पाउनेछ। आन्तरिक कलह र फुटका कारण खुम्चिएको र निम्छरो भएको माओवादीको अध्यक्ष हुनुभन्दा ठूलो दलको सहअध्यक्ष हुनुमै आनन्द छ भनेर मात्र प्रचण्डले यो एकता प्रयासमा आफूलाई पक्कै होमेका होइनन् होला। राजनीतिमा क्रमभंगता र छलाङमा असाध्यै विश्वास गर्ने प्रचण्डले आगामी दिनमा आफूलाई कसरी प्रस्तुत गर्छन्, त्यही आधारमा एकीकरणपछि बन्ने पार्टीको भविष्य निर्धारण हुनेछ।

 

अध्यक्ष ओली र अध्यक्ष प्रचण्डबीच अहिले जुन खालको भागबण्डाको ‘मोडालिटी’ तयार भएको भनिएको छ, यसले यी दुई नेतामा अझै पनि विश्वासको तह उच्च हुन नसकेको देखाउँछ। ओली प्रधानमन्त्री हुने र प्रचण्ड पार्टी अध्यक्ष हुने प्रारूपमा जान सकेको भए त्यो निकै ‘बोल्ड डिसिजन हुन्थ्यो।

 

यसले पार्टीभित्रका अन्य नेताको व्यवस्थापन गर्न पनि सजिलो हुन्थ्यो। पार्टी एकताका लागि ठूलो दलको अध्यक्ष पनि छोडेर त्याग गरेको भन्दै ओली प्रशंसित हुने थिए। प्रचण्डलाई पनि एकै पटक ‘राजनीतिक बम्पर उपलब्धि’ हात लाग्थ्यो। यसले दुवै पार्टीका नेतामा एकढिक्का हुन प्रेरणा मिल्ने थियो। तर, नेताहरूले आलोपालो प्रणालीलाई जीवित राखेर आफूभित्रको अविश्वासलाई पनि बचाइराख्ने रणनीति लिएका छन्।    
 
 

तपाईको कमेन्ट

अन्य समाचार