डा. रोजिना अधिकारी

युक्रेनबाट एमबीबीएस गरेकी रोजिना अधिकारी नर्भिक इन्टरनेसनल हस्पिटल र अल्का हस्पिटलमा मेडिकल अफिसरका रूपमा कार्यरत छिन् । महाव्याधिका रूपमा संसारभरि फैलिएको कोरोनाभाइरस सम्बन्धी सचेतना बाँड्दै आएकी उनी यस भाइरसबाट बच्न हातलाई संक्रमणबाट बचाउनुपर्ने सुझाव दिन्छिन् । ‘धेरैजसो अवस्थामा संक्रमण हाम्रो हातमार्फत हुने गर्छ,’ रोजिना भन्छिन्, ‘विश्वव्यापी महामारीको समयमा भाइरसको संक्रमण फैलिनबाट रोक्न नियमित रूपमा साबुनपानीले हात धुनु सबैभन्दा सस्तो, सजिलो र महत्त्वपूर्ण उपाय हो । स्यानिटाइजरको प्रयोगले पनि संक्रमण रोक्न सकिन्छ ।’ खोक्दा र हाच्छिउँ गर्दा मुख छोप्ने, हात नमिलाउने, अंकमाल नगर्ने, बरु नमस्कार गर्ने र भीडभाडबाट टाढा रहने गरेर यो भाइरसलाई जित्न सकिने उनको सुझाव छ ।