सुषमा अधिकारी

कैलाली, धनगढीकी सुषमा अधिकारी आठ वर्षअघि काठमाडौँ आउनुको उद्देश्य बेग्लै थियो । धनगढीमा प्लस टू सकेर कलेज पढ्न काठमाडौँ आएकी थिइन्, उनी । काठमाडौँ आएपछि पढाइ र मोडलिङलाई सँगसँगै अघि बढाउने मौका पाएकी उनी अहिले व्यस्त मोडलमा पर्छिन् । महिनामा कम्तीमा तीनचार वटा म्युजिक भिडियोमा अभिनय गर्छिन् । अहिलेसम्म तीन सयजति म्युजिक भिडियोमा काम गरिसकिन् । ‘बाबा÷ममीले पढाइलाई नै जोड दिनुपर्छ भन्नुहुन्थ्यो,’ उनी भन्छिन्, ‘म पढाइसँगै मोडलिङलाई पनि अघि बढाउने विचारमा थिएँ । त्यसैले काठमाडौँ आएपछि सबैभन्दा पहिले फोटो सुट गराएँ ।’ पत्रिकामा तस्बिर छापिएपछि म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाइन् । उनले फिल्म ‘अनौठो प्रेमकथा’ र ‘पीपल’ मा मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । फिल्मभन्दा म्युजिक भिडियोमा काम गर्दा आम्दानी बढी हुने भएकाले भिडियोमै बढी जोड दिएको उनी बताउँछिन् ।