रजनी केसी

काठमाडौँ, कलंकी, तीनथानाकी रजनी केसी मोडलिङमा लागेको दुई वर्ष भयो । प्लस टू पास गरेपछि मोडलिङ सुरु गरेकी रजनी यसैमा करिअर अघि बढाउने योजनामा छिन् । दुई वर्षमा एक दर्जनजति फेसन सोमा ¥याम्प वाक गरेकी उनले छ वटा विज्ञापनमा पनि काम गरेकी छिन् । विभिन्न प्रोडक्ट लन्चमा मोडलिङ गर्दै आएकी उनले नाडा अटो सोमा पनि मोडलका रूपमा काम गरिन् । ‘दुई वर्षदेखि मोडलिङ गरिरहे पनि मैले अहिलेसम्म म्युजिक भिडियोमा काम गरेकी छैन,’ रजनी भन्छिन्, ‘मोडलिङ भन्नेबित्तिकै म्युजिक भिडियोमा काम गर्ने हो भन्ने सोचबाट बाहिर निस्कनुपर्छ । मलाई पनि म्युजिक भिडियोमा काम गर्ने अफर नआएको होइन । तर, मैले फेसन सो र विज्ञापनमा नै आफूलाई केन्द्रित गरेकी छु ।’ मोडलिङलाई नै मुख्य पेशा बनाउने गरी यो क्षेत्रमा लागेको उनी बताउँछिन् ।