सपना पन्त

बनेपा, काभ्रेकी सपना पन्त मोडलिङमा लागेको दुई वर्ष भयो । प्लस टू पास गरेपछि यो क्षेत्रमा लागेकी उनले फिल्म ‘तिम्रो खुशी’ मा पनि अभिनय गरेकी छिन् । दर्जनभन्दा बढी म्युजिक भिडियो र केही विज्ञापनमा अभिनय गरेकी उनी मोडलिङलाई नै अघि बढाउने सोचमा छिन् । ‘मेरा लागि मोडलिङ रहर मात्र होइन, काम पनि हो,’ सपना भन्छिन्, ‘यही क्षेत्रमा दत्तचित्त भएर लाग्ने सोचमा छु ।’ आफूलाई घरपरिवारबाट पनि सहयोग रहेको बताउने उनी यो फिल्ड बाहिरबाट हेर्दा जस्तो सजिलो नभएको बताउँछिन् । ‘ग्ल्यामर दुनियाँमा टिक्न आफूमा प्रतिभा पनि हुनुपर्छ,’ उनी भन्छिन्, ‘झट्ट हेर्दा राम्री देखिँदैमा, अलि अग्ली हुँदैमा मात्र मोडल भइहाल्छु कि भनेर सोच्नु हुँदैन ।’ मोडलिङलाई रहरको कामभन्दा पनि पेशा नै बनाउने हिसाबले अपनाउन सक्दा नै यो क्षेत्रमा केही गर्न सक्ने सम्भावना रहने सपना बताउँछिन् ।