जसिता गुरुङ

‘लिली बिली’बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन्, अभिनेत्री जसिता गुरुङले। ‘यूके डान्स अफ’ की विजेता उनले पहिलो फिल्मबाटै दर्शकमा प्रभाव छाडिन्। पोखराकी स्थायी बासिन्दा जसिता भूपू ब्रिटिस गोर्खा परिवारकी एक्ली छोरी हुन्। बेलायतको विन्चेस्टरमा बस्ने उनी १२ वर्षमा टेक्दाटेक्दै परिवारसँगै यूके बसाइँ सरेकी हुन्। त्यसयता उनी उतै छिन्। सानैदेखि डान्समा रुचि भएकी जसिता नृत्य प्रतियोगितामा सहभागी हुन्थिन्। उनलाई नृत्यले नै नेपाली फिल्म क्षेत्रमा ल्याइपुर्‍यायो।  उनको दोस्रो फिल्म ‘लभ स्टेसन’ अघिल्लो वर्षको चैतमा प्रदर्शनमा आएको थियो। टर्किस फिल्मको नक्कल गरेको आरोप लागेको फिल्मबाट भने जसिताले ठीकठीकै चर्चा पाइन्। अब भने उनी धिरज मगरको जोडी भएर ‘आई एम ट्वान्टी वन’ शीर्षकको फिल्ममा देखिने चर्चा छ।