निशा बराइली

काठमाडौँ, बौद्धमा बस्दै आएकी निशा बराइलीको पुख्र्यौली थलो सिन्धुपाल्चोक हो । उनी काठमाडौँमै हुर्किएकी हुन् । टेक्सास इन्टरनेसनल कलेजबाट स्नातक गरेकी उनलाई मोडलिङमा विशेष रुचि छ । ‘फेसन रन वे २०१८’ मा भाग लिएपछि उनी मोडलिङप्रति आकर्षित भएकी हुन् । ‘नाडा अटो सो २०१८’ मा उनलाई टाटा मोटर्सले मोडलका रूपमा काम दिएको थियो । ५ फिट १० इन्च अग्ली उनी प्रोफेसनल मोडल बन्ने लक्ष्यका साथ मोडलिङमा लागेको बताउँछिन् । उनी ‘फेसेज अफ भक्तपुर’ सौन्दर्य प्रतियोगिताकी फस्ट रनरअप पनि हुन् । नाच्न, गाउन र घुम्न रुचाउने उनी मोडलिङका लागि चाहिने सीप बढाउन लागिपरेको बताउँछिन् । ‘म्युजिक भिडियो, फेसन सो र विज्ञापनका लागि अफर आइरहेका छन्,’ उनी भन्छिन्, ‘तर, म करिअर उकास्ने खालका प्रोजेक्टमा मात्र काम गर्ने सोचमा छु ।’