प्रदीप खड्का–जसिता गुरुङ

गत साल प्रदर्शनमा आएको ‘लिली बिली’ मा अनस्क्रिन जोडी बनेका प्रदीप खड्का र जसिता गुरुङ ‘लभ स्टेसन’मा दोस्रो पटक जोडी बनेर आउँदैछन् । चैत २२ गते प्रदर्शन हुने फिल्मबाट दुवै आशावादी छन् । ‘लभ स्टेसन’ जसिताको दोस्रो फिल्म हो भने प्रदीपको छैटौँ । उनीहरू अफेयरमा रहेको समेत चर्चा छ तर दुवैले आफूहरू राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । लन्डनमा हुर्केकी जसिताले नेपालको होली खेल्नुभन्दा पनि सामाजिक सञ्जालमा ज्यादा देखेकी छिन् । तर, यो पटक फिल्मको प्रमोसनसँगै मज्जाले होली खेल्ने योजना रहेको उनी बताउँछिन् । प्रदीप पनि होलीलाई फिल्म प्रमोसनको माध्यमका रूपमा प्रयोग गर्ने सोचमा छन् ।‘मलाई होली एकदमै मन पर्छ,’ उनी भन्छन्, ‘यो साल होली खेल्दै फिल्मको प्रचार गर्छु ।’