सुजाता थापा

‘स्वर्ग मेरो गाउँ’ फिल्मबाट डेब्यू गरेकी सुजाता थापाले ‘झमकबहादुर’, ‘मेरो आफ्नो’ र ‘रे’ मा अभिनय गरेकी छिन् । ‘झमकबहादुर’मा उनले अनुपविक्रम शाहीसँग अनस्क्रिन रोमान्स गरेकी थिइन् । उनको मुख्य भूमिका रहेका फिल्म ‘मेरो आफ्नो’ र ‘रे’ भने रिलिज हुन बाँकी छन् । उदयपुरकी सुजाताको लक्ष्य अभिनेत्री बन्ने थिएन । अध्ययनका लागि काठमाडौँ आएकी उनी एमएकी विद्यार्थी हुन् । दुई वर्ष विद्यालयमा शिक्षक भएकी उनले अनमी तालिम लिएर अस्पतालमा काम पनि गरिन् । अभिनयसम्बन्धी कुनै औपचारिक क्लास नलिएकी उनी फिल्मको सुटिङअघि गरिने वर्कसप नै आफ्ना लागि अभिनय क्लास भएको बताउँछिन् । पढाइ पूरा नहुञ्जेल फिल्ममा पूरा टाइम नदिने बताउने उनी अहिले पनि झोलामा किताब र कपी बोकेर हिँड्छिन् । ‘सकेसम्म क्लास छुटाउने गरेकी छैन,’ सुजाता भन्छिन्, ‘पढाइ पूरा गरेर यो क्षेत्रमा लाग्दा आत्मविश्वास बढ्ने भएकाले पढाइमा ध्यान दिइरहेको छु । फुर्सद हुनेबित्तिकै कोर्सबुकमा घोत्लिने गर्छु ।’