सुजना ढकाल

छ वर्षसम्म मोडलिङमा करिअर बनाउन दौडधूप गरेपछि काठमाडौँ, बूढानीलकण्ठकी सुजना ढकाललाई यो क्षेत्र सोचेजति सहज नभएको अनुभव भइरहेको छ । प्लस टूमा पढ्दै गर्दा रहरैरहरमा मोडलिङमा प्रवेश गरेकी सुजना बल्ल अहिले आएर मोडलिङ के हो भन्ने बुझ्दै छिन् । टिन एज पार नगर्दै मोडलिङमा होमिएकी उनी अहिले रंगकर्मी अनुप बरालको एक्र्टस स्टुडियोमा अभिनय कोर्स गर्दै छिन् । रंगकर्मी बराल र दिया मास्केसँग अभिनय कोर्स गर्न थालेपछि उनलाई यसअघिको समय व्यर्थै बितेजस्तो लागिरहेको छ । मोडलिङ र अभिनयसम्बन्धी ट्रेनिङ लिएर मात्र लाग्नुपर्ने क्षेत्रमा त्यत्तिकै लाग्दा सफल हुन नसकिने उनी बताउँछिन् । उनकी दिदी अनुष्का ढकाल हिरोइन थिइन् । ‘दिदी हिरोइन भएकाले म पनि यो क्षेत्रमा आकर्षित भएँ,’ सुजना भन्छिन् । दुइटा फिल्म र ५० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेकी उनी मोडलिङ र अभिनयको क्षेत्रमा स्थापित हुने हिसाबले संघर्ष गरिरहेको बताउँछिन् ।