रमिता भण्डारी

रमिता भण्डारीका विभिन्न परिचय छन् । उनी आफूलाई गायिका, इभेन्ट अर्गनाइजर तथा कोरियोग्राफरका रूपमा परिचित गराउन रुचाउँछिन् । तीन वटा सोलो एल्बम निकालिसकेकी उनी गिटारिस्ट पनि हुन् । मोडलिङबाट ग्ल्यामर दुनियाँमा पाइला राखेकी उनले विभिन्न ब्युटी पेजेन्टमा भाग लिएर उपाधि पनि जितेकी छिन् । ‘मिस हेटौँडा’ हुँदै ‘बेस्ट मोडल’को उपाधि जितेकी उनले ‘मिस नेपाल’मा पनि प्रतिस्पर्धा गरेकी थिइन् । रमिताले थुप्रै म्युजिक भिडियो तथा विज्ञापनमा अभिनय गरेकी छिन् । उनले सिंगापुर, दुबई, क्यानडा, मकाउ, थाइल्यान्ड, मलेसिया, हङकङलगायत देशमा म्युजिक कन्सर्ट गरिसकेकी छिन् । उनी रस लाइट मिडियामार्फत नेपालका विभिन्न शहरमा म्युजिक कन्सर्ट, फेसन सो तथा अन्य इभेन्ट आयोजना गर्छिन् । अहिले उनी गायक दीपक वज्राचार्यसँगको सहकार्यमा ‘मन मगन यात्रा’ सांगीतिक कन्सर्ट गर्ने तयारीमा छिन् । गायक वज्राचार्यको नयाँ गीत ‘मन मगन’ लाई देशका विभिन्न शहरमा प्रस्तुत गर्ने कार्यक्रम रहेको रमिता बताउँछिन् ।