सुरक्षा पन्त

आलोक नेम्वाङले निर्देशन गरेको फिल्म ‘अझै पनि’ बाट नेपाली रजतपटमा डेब्यू गरेकी सुरक्षा पन्तले आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । इन्जिनियरिङमा एमई गरिरहेकी उनी भिजे पनि हुन् । इमेज हन्टमा उत्कृष्ट तीनभित्र पर्न सफल उनले लामो समय सगरमाथा टेलिभिजनमा ‘प्ले इट अन’ शीर्षकको कार्यक्रम पनि होस्ट गरेकी थिइन् । पढाइ, मिडिया र अभिनयलाई एकसाथ अगाडि बढाइरहेकी सुरक्षा मौलिक फिल्मकी पक्षपाती हुन् । ‘समसामयिक र मौलिक विषयमा बन्ने फिल्ममा बिनापारिश्रमिक काम गर्न तयार छु,’ उनी भन्छिन् । अभिनेताको तुलनामा अभिनेत्रीको पारिश्रमिक साह्रै कम रहेको भन्दै पारिश्रमिक वृद्धि हुनुपर्ने आवाज उठाउँदै आएकी उनले ‘सुस्केरा’, ‘धनपति’, ‘चंगा चेट’ लगायत फिल्ममा अभिनय गरेकी छिन् । उनको पछिल्लो फिल्म ‘गोपी’ यही शुक्रबारबाट प्रदर्शनमा आउँदै छ । फिल्ममा सुरक्षा शिक्षिकाको भूमिकामा छिन् । उनी अहिले अर्पण थापाको निर्देशनमा बनिरहेको फिल्म ‘घर’मा पनि अभिनय गरिरहेकी छिन् ।