मनिता श्रेष्ठ

काठमाडौँ, सुन्दरीजलकी मनिता श्रेष्ठ आफ्नो उचाइलाई लिएर साथीहरूका बीच ‘अड’ मान्छिन् । ‘मेरा साथीहरूको हाइट ठीकै छ,’ उनी भन्छिन्, ‘साथीहरूसँग हिँड्दा निकै अग्ली देखिन्छु ।’ उनको उचाइ ५ फिट ७ इन्च छ । उनलाई हाइटकै कारण बाटोमा हिँड्दा अरूले हेरेको जस्तो लाग्छ । उनका साथीहरू उनको उचाइ देखेर लोभिन्छन् । ‘साथीहरूले अग्ली छेस्, शरीर स्लिम छ, राम्री पनि छेस्’ भनेर उक्साएपछि मोडलिङमा लागेको उनले बताइन् । मोडलिङ बाहिरबाट हेर्दा जस्तो सजिलो नभएको, उचाइ र रूप हुँदैमा पनि केही गरिहाल्ने अवस्था नरहेको मनिता बताउँछिन् । ‘यो क्षेत्रमा ताल–तालका मानिस भेट हुँदा रहेछन्, असल र खराब मानिस चिन्नै गाह्रो हुन्छ,’ उनको अनुभव छ । घरपरिवारबाट उनलाई पढाइमै केन्द्रित हुन जोड दिए पनि उनी आफ्नो रुचिको क्षेत्र भएकाले मोडलिङमा लागेको बताउँछिन् । केही म्युजिक भिडियो र फेसन सोमा र्या‍म्पवाक गरेकी उनलाई विज्ञापन र जनचेतनामूलक टीभीसीमा काम गर्ने इच्छा छ ।